नारायण प्रसाद गौडेलद्वारा कोहलपुरमा घरदैलो, भूमिहीनलाई लालपूर्जा दिलाउने प्रतिबद्धता

शुक्रबार, फागुन १, २०८२

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् ।

शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर १ को कौशल्यानगर तथा वडा नम्बर २ का पुष्पनगर र विकासनगरमा घरदैलोसँगै स्थानीयसँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधारको समस्या झेल्दै आएको गुनासो गरेका थिए ।

उनीहरुले भूमिहीन र असुरक्षित बसोबासको समस्या समाधानमा भूमिका खेल्दिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले स्थानीयले उठाएका समस्याबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले भूमिहीन समस्या समाधानतर्फ अघि बढिरहेको अवस्थामा जेन्जी आन्दोलनपछि बनेको सरकारले आयोग विघटन गर्दा प्रक्रिया अवरुद्ध भएको बताए । "स्थानीय सरकारको समन्वयमा भूमिहीनहरुलाई लालपूर्जा दिने काम भइरहेकै थियो, सरकार फेरियो, आयोग विघटन भयो, काम रोकियो," उनले भने-"अब काँग्रेस नेतृत्वको सरकार बन्छ, भूमिहीनलाई लालपूर्जा दिने सवालमा म निरन्तर पहल गर्नेछु ।"

घरदैलोका क्रममा स्थानीयले लामो समयदेखि जनस्तरमा रहेर सेवा गर्दै आएका कारण गौडेलप्रति आफ्नो विश्वास रहेको बताएका थिए । यसैबीच शुक्रबार बिहान नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले उम्मेदवारसँग कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए । नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले दलित समुदायका मुद्दामा काँग्रेसले निरन्तर साथ दिँदै आएको बताए । उनले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रममा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको मुद्दा उठाइएको थियो । उम्मेदवार गौडेलले ती विषयमा नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्