सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले सामाजिक संजाल कब्जा गरेर मात्र देशको वास्तविक अवस्थालाई लुकाउन नसकिने बताएका छन् ।
पुनले केही राजनीतिक दलले सामाजिक संजालमा नकारात्मक टिप्पणी गरेर जनतामा भ्रम मात्र छर्ने काम गरिरहेको बताए । उनले भने, ‘नकारात्मक आलोचनाले मात्र देशको विकास गर्न सकिँदैन । नेपाली कांग्रेस नेपालको समृद्धिको नयाँ-नयाँ संकल्पको साथ जनतामाझ आएको छ । हामी सपनासहित आएका छौं। अहिलेको आवश्यकता अनुसार विकास गर्ने एजेन्डासहित आएका छौं ।’
बाँके क्षेत्र नम्बर ३ का स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा पुनले गगन थापा र बालेन्द्र शाहबीच कुनै तुलना हुन नसक्ने बताए । उनले भने, ‘बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाले २६ प्रतिशत भन्दा धेरै कार्य सम्पादन गर्न सकेन । त्यो भन्दा धेरै विकास बैजनाथ गाउँपालिकामा भएको छ । यहाँको पालिकाले ८४ प्रतिशत भन्दा धेरै कार्यसम्पादन गरेको छ । काठमाडौं जस्तो महानगरपालिकाले गरेको विकास गति त्यही हो ।’
आवेगमा आएर देश जलाउन उकास्ने नेतृत्वबाट देश विकासको कल्पना गर्न नसकिने नेता पुनले बताए । उनले थपे, ‘उहाँहरुको आह्वानमा भएको आन्दोलनले देश जलाउने र युवाहरुको ज्यान लिने अवस्थामा लगेको थियो । हामीले सोचे जस्तो विकास भएको छैन होला । हामी युवाले चाहे जस्तो, अहिलेको आवश्यकता अनुसार विकास गर्छौं ।’ उनले समाज परिवर्तनको लागि नेपाली कांग्रेसले धेरै काम गरेको बताउँदैं भविष्यमा पनि देशको आवश्यकता अनुसार काम गर्ने बताए ।