शुधान्सु कोइरालाको घरदैलो अभियान, स्थानीय समस्यामा समाधानको प्रतिबद्धता

बिहीबार, माघ २९, २०८२

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएका छन् ।  उनले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवार कोइरालाले आज डुडुवा गाउँपलिकाको वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गरेका छन् । 

भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए । नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । उनले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताए । 

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधि सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता गरे।

 उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगपालिका र डुडुवाका मतदाताहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई नियमित गर्दै आएको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्