नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति झण्डै ३०% पुग्यो, १४ करोड आन्तरिक राजश्व सङ्कलन

बिहीबार, माघ २९, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको ६ महिनाको पूँजीगत खर्च भने १०.४३ प्रतिशत रहेको छ ।

यस्तै वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत वडागत खर्च वडा नम्बर ६ ले गरेको छ । योजना शाखा प्रमुख तेजेन्द्र रोकायले प्रस्तुत गरेको खर्च विवरणमा सहकारी विकास शाखाले सबैभन्दा बढी ३८.२६ प्रतिशत खर्च गरेको उल्लेख छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले २२ करोड आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा यो अवधिभित्र १४ करोड अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गरेको छ । नेपालगञ्जमा आज आयोजित 'आर्थिक बर्ष २०८२-८३ को अर्धबार्षिक समिक्षा तथा तथ्यांक साक्षरता कार्यक्रम' मा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्यप्रगति प्रस्तुत गरेका थिए । चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १७८ गरी २१९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिए । कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय दाङका तथ्याङ्क समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याङ्क साक्षरताका बारेमा सहजीकरण गरेको नेपालगञ्ज उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत सुरेन्द्र पन्तले जानकारी दिए । 

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले लक्षित उपलब्धि हासिल गर्न तदारुकताका साथ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले 'जिरो मिस्टेक' का साथ चितुवा गतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा अहिलेसम्मको प्रगतिको समिक्षा र अब बाँकी अवधिमा कसरी अघि बढ्ने भन्ने विषयमा गहन छलफल गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्