बाँके–२ मा शुधान्सु कोइरालाको प्रतिबद्धता: अग्रजको सम्मान र भ्रष्टाचारविरुद्ध कडा अडान

बिहीबार, माघ २९, २०८२
Honor 600 pro

नेपालगञ्ज । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आफूले अग्रजको सम्मानमा कहिल्यै कमी हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । नेपाली कांग्रेसमा थुप्रै अग्रजले योगदान गरेको स्मरण गर्दै उनले आफूले जहिले पनि अग्रजको सम्मान गर्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा कोइरालाले बाँके कांग्रेस पूर्व सभापति एवम् आदर्श व्यक्तित्व स्वर्गीय रणेन्द्रबहादुर हमालको आदर्शलाई पछ्याउने प्रतिवद्धता समेत जनाए।

नेपाली कांग्रेसभित्र थुप्रै अग्रज नेताहरु हुँदाहुँदै पनि पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको भन्दै कोइरालाले अग्रज नेताहरु, बाँकेका जनताहरु र कार्यकर्ताको साथ र सहयोगले आफूले चुनाव जित्ने दावी गरे । ‘मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले जुन क्षेत्रबाट टिकट दिएको छ, यो क्षेत्र सुशील कोइरालाको क्षेत्र हो, देशलाई संविधान दिएको सादगी नेताको क्षेत्र पनि हो । तसर्थ आफूले कहिल्यै पनि जालझेलको राजनीति नगर्ने विश्वास दिलाए । नेपाली राजनीतिमा स्वर्गीय सुशिल कोइरालाले आफूलाई सादगी र निष्ठावान नेताको रुपमा चिनाएर गएको बताउँदै भने(‘स्वर्गीय नेता सुशील कोइरालाको निष्ठामा कुनै दाग लाग्न दिने छैन ।’ आफू प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने प्रतिवद्धता पनि कोइरालाले दोहोर्याए । ‘संसदमा म हजूरहरुको भावनाको कदर गर्नेछु, ममा कहिल्यै पनि घमण्ड नआओस्, हामीले धेरै क्षेत्रका लागि काम गर्नुपर्नेछ, हजूरको सेवक भएर काम गर्नेछु’, उम्मेदवार कोइरालाले भने ।  

नेपाली कांग्रेस नेपालगञ्ज–२ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती लगायतले बोलेका थिए । कार्यक्रममा प्रजातन्त्र सेनानी रहमत अलि अन्सारी ‘मोलहे बाबा’ लाई सम्मान गरिएको थियो । मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले बुधबार नै डुडुवा गाउँपालिकाको वडा नम्बर ३ को बाबुपुरुवा, तिवारीपुरुवा, वनकटवा, बनकट्टी, सुर्यलालपुर लगायत गाउँमा मतदातालाई भेटेका छन् ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय, नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी तथा सदस्यहरुसहित विभिन्न वडा तथा पेशागत संगठनका पदाधिकारीलाई पनि भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्