नरैनापुर गाउँपालिकाको आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु

बुधबार, माघ २८, २०८२

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ। भवन निर्माण सम्पन्न भएसँगै  गाउँपालिकाका सम्पूर्ण सेवा आफ्नै भवनबाट प्रवाह  भएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए।

दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण कम्पनी महालक्ष्मी–जुगल बिल्डर्स जेभीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन। पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले मंगलबार विधिवत् रूपमा भवनको उद्घाटन गरेसँगै सेवा प्रवाह आफ्नै भवनबाट सुरु भएको वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले बताए। यसअघि साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदै आएको पालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा प्रदान गरिएको बस्नेतले जानकारी दिएका छन् ।

लेखापाल प्रकाश अधिकारीका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासी र जनप्रतिनिधिहरूले पनि यसले पालिकाको सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्