सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको हो।
आयोगका अनुसार देशका ७५३ वटै स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक खटाइनेछ। ती स्वयंसेवकले मतदाताको घरदैलोमै पुगेर नमुना मतपत्र प्रयोग गरी मतदान गर्ने सही विधिबारे जानकारी दिनेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मत बदर हुने दर घटाउन र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार मतदातालाई निर्वाचनको महत्व बुझाउँदै सही तरिकाले मत सङ्केत गर्न सिकाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
यस कार्यक्रमको अनुगमनका लागि आयोगले यसअघि नै स्थानीय तहमा तोकेका सम्पर्क व्यक्तिहरूलाई जिम्मेवारी दिएको छ। आयोगले मतदाता शिक्षामार्फत निर्वाचनमा नागरिक सहभागिता वृद्धि हुने र बदर मतको संख्या उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेको छ।
कार्यक्रम सफल बनाउन आयोगले सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार माध्यमसँग सहकार्यको आग्रह गरेको छ। आयोगका अनुसार मतदातालाई सचेत र प्रशिक्षित बनाउने यस अभियानले निर्वाचन प्रक्रियालाई अझ विश्वसनीय र प्रभावकारी बनाउन मद्दत गर्नेछ।