सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समिति बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सुशासन र पारदर्शितामार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
संविधान पिता तथा त्यागी नेता सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउनु आफ्नो लागि ठूलो शौभाग्य भएको उल्लेख गर्दै कोइरालाले उक्त क्षेत्रको राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने धारणा राखे । उनले सुशील कोइरालाले स्थापित गरेको इमान्दार राजनीति, त्याग र समर्पणको मार्गलाई आत्मसात गर्दै आफू अघि बढ्ने बताए । कोइरालाले नेपाली काँग्रेसभित्र आएको परिवर्तनले कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गरे । जेनजी आन्दोलनले पार्टीलाई समय अनुकूल रूपान्तरणतर्फ अघि बढाएको भन्दै उनले अहिले पार्टी संगठन थप सक्रिय र सशक्त हुँदै गएको दाबी गरे । उनका अनुसार कार्यकर्ताको एकता, सक्रियता र योजनाबद्ध अभियान सञ्चालन गर्न सके चुनावी विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । “हामीले थोरै मात्र थप मेहनत गरेर सही रणनीति अपनाउन सके जित सुनिश्चित छ,” उनले भने, “पार्टीभित्र देखिएको उत्साह र एकताले सकारात्मक परिणाम ल्याउने आधार तयार भएको छ ।”
कोइरालाले पार्टी नेतृत्वप्रति पनि विश्वास व्यक्त गर्दै नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन बाँकेबाट निर्वाचन लड्नु जिल्लाकै गौरव भएको बताए । उनले पुनको नेतृत्वलाई मार्गदर्शनका रूपमा लिँदै संगठन सुदृढीकरण र चुनावी अभियानलाई थप प्रभावकारी बनाउने बताए । “हामीले सक्षम अभिभावक नेतृत्व पाएका छौं, जसले हामीलाई सही दिशा दिनेछ,” उनले भने । उनले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नभई जनताको विश्वास जित्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले पारदर्शी र उत्तरदायी शासनमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए ।
कोइरालाले बाँके क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले स्पष्ट योजना र प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे । भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति तथा बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मूल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल लगायले सम्वोधन गरेका थिए । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको थियो भने सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् ।