काँग्रेसीमा फेरि जाँगर फर्कियो, रुखमै भोट हाल्ने माहोल बन्यो : नारायण गौडेल

मंगलबार, माघ २७, २०८२

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समितिले नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र सकारात्मक वातावरण निर्माण भएको बताएका हुन् ।

गौडेलले अहिलेको राजनीतिक परिस्थिति काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गरे ।

“लामो समयपछि काँग्रेसीले रुखमै भोट हाल्ने अवस्था बनेको छ । यसले काँग्रेसी कार्यकर्ता मात्र होइन, आम जनतालाई समेत उत्साहित बनाएको छ,” उनले भने। पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको उनको भनाइ छ छ । उनले काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताए । “हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं। विधिको शासन कायम गरिनेछ,” गौडेलले भने । देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाई थियो । उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । “देशमा सुशासन, पारदर्शिता र विधिको शासन कायम गर्न काँग्रेस नेतृत्वको सरकारको विकल्प छैन,” उनले स्पष्ट पारे ।

पार्टी नेतृत्वमा आएको परिवर्तनले काँग्रेसलाई नयाँ ढंगले अघि बढाएको गौडेलको भनाई छ । उनले पार्टीका महामन्त्री गगनकुमार थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गरे । “गगनकुमार थापा सभापति बनेपछि काँग्रेस बदलिएर आएको छ,” उनले भने । गौडेलले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गरे । उनले काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरे । भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार म्रल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सचिव तथा क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइराला लगायले सम्वोधन गरेका थिए ।

कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्