सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका उपसभापति शर्माले किन्चित पनि अलमल गर्ने सुविधा कांग्रेसलाई नभएको भन्दै विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए ।
शर्माले कांग्रेसले यस पटक करीब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे । 'जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,' उनले भने- 'देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंग छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससंग छ ।' शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिए । 'जो जहाँ जुन पदीय जिम्मेवारीमा हुनुहुन्छ, मत बटुल्न त्यहीँ खट्नुस्, अन्यत्र जाने काम नगर्नुस्', उनले भने-'आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् ।'
भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुन, क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलाको संचालन पार्टी सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।