तामाकोशी बस दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु

मंगलबार, माघ २७, २०८२

काठमाडौं । तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृतकक्क संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलमा थप तीन जनाको शव फेला परेपछि मृतक संख्या ९ पुगेको हो।

प्रहरीले दिएको जानकारी अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ३ जनाको शव दुर्घटनास्थलमै फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै पनि सम्भावित बेपत्ता यात्रुको खोजी कार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ। अरनिको यातायात समितिका अनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषय खुल्न सकेको छैन।

प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा खटिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्