'बाँके–१ मा युवा जोश र स्पष्ट दृष्टिकोण': धिरजको उम्मेदवारीले राजनीतिमा नयाँ ऊर्जा

सोमबार, माघ २६, २०८२

बाँके । बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका तर्फबाट धनबहादुर खड्का (धिरज) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। २०३९ सालमा जन्मिएका ४३ वर्षीय खड्का राप्ती सोनारी गाउँपालिका–८ का स्थायी बासिन्दा हुन्। लामो समयदेखि समाजसेवा, जिम्मेवार संस्थामा सक्रिय भूमिका र आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका खड्का अहिले राजनीतिमा नयाँ सोच, स्पष्ट दृष्टिकोण र युवामैत्री एजेन्डासहित अघि बढिरहेका छन्।

Honor x5c

उनले बाँके क्षेत्र नं. १ का नागरिकलाई सक्षम बनाउँदै गुणस्तरीय जीवन सुनिश्चित गर्ने नीति निर्माण र विशेष कार्यक्रम कार्यान्वयनलाई आफ्नो मुख्य लक्ष्यका रूपमा अघि सारेका छन्। कोहलपुरलाई औद्योगिक सहरका रूपमा विकास गर्ने, कोहलपुर, नरैनापुर र राप्ती सोनारी क्षेत्रमा उद्योग–कलकारखाना स्थापना गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको प्रतिबद्धता रहेको छ। वैज्ञानिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै बिनौना र कोहलपुरमा प्राविधिक कलेज स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

राप्ती नदीका कारण हरेक वर्ष दोहोरिने कटान, डुबान र पटानको समस्याबाट नागरिकलाई स्थायी रूपमा मुक्त गर्न राप्ती सोनारी र नरैनापुर क्षेत्रमा नदीको दुवै किनारामा पक्की तटबन्ध निर्माण गर्ने उनको योजना छ। साथै, कुसुम क्षेत्रका बासिन्दालाई प्रत्यक्ष रूपमा महेन्द्र राजमार्गसँग जोड्न भवनीयापुर क्षेत्रको राप्ती नदीमा पक्की पुल निर्माण गर्ने विषय पनि उनको एजेन्डामा समेटिएको छ।

भारतसँग जोडिएको खुला सीमाका कारण नरैनापुर र राप्ती सोनारी क्षेत्रमा बढ्दै गएको चोरी–डकैती तथा सुरक्षा जोखिम न्यूनीकरणका लागि विशेष सुरक्षा पोष्ट स्थापना गरिने खड्काले बताएका छन्। दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि नरैनापुरको बघौडा नाकालाई वैधानिकता दिलाउन पहल गर्ने र इलाका प्रशासन कार्यालयको स्तरोन्नति गरी नागरिकलाई सहज पहुँचमा सेवा उपलब्ध गराउने उनको योजना छ।

बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा बढ्दो बन्यजन्तु आक्रमणलाई खड्काले आफ्नो प्रमुख सुरक्षा एजेन्डाका रूपमा अघि सारेका छन्। निकुञ्ज क्षेत्रका कारण स्थानीय बस्ती असुरक्षित बन्दै गएको उल्लेख गर्दै उनले महिनौँपिच्छे बाघ तथा चितुवाको आक्रमणबाट मानव जीवन गुम्नुपरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। हाल प्रचलनमा रहेको बन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष नभएकाले त्यसलाई संशोधन गरी जनमुखी र सुरक्षामैत्री बनाउनु अपरिहार्य भइसकेको उनको धारणा छ। जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने, क्षतिपूर्ति प्रक्रिया सहज बनाउने र दीर्घकालीन समाधानका लागि कानुनी सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। आम जनताको सुरक्षाका लागि आफू सधैं अग्रपंक्तिमा उभिने उनको भनाइ छ।

कृषि क्षेत्रमा कृषकलाई समयमा मलखाद उपलब्ध गराउन तीन वटै स्थानीय तहमा कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय स्थापना गर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपुर्जा वितरण गर्ने तथा सीमावर्ती विकट बस्तीमा मोटरबाटो, खानेपानी, सञ्चार, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा पुर्‍याउने योजना पनि उनले अघि सारेका छन्।

पर्यटन प्रवर्द्धनलाई अर्थतन्त्रको आधार बनाउने लक्ष्यसहित बाँके र दाङको सीमामा पर्ने अमेलिया र शिवखोलाको बीच क्षेत्रबाट राप्ती नदीमा र्‍याफ्टिङ सुरु गरी अगैयालाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, पर्यटनसँगै साना व्यवसायीलाई सहज बनाउन ‘एक घर एक होमिस्टे’ कार्यक्रम लागू गर्ने उनको योजना रहेको छ। आदिवासी थारु समुदायसहित सबै जातजातिको इतिहास, पहिचान र संस्कृतिलाई उजागर गर्ने उद्देश्यले संग्रहालय निर्माण गर्ने विषय पनि उनको एजेन्डामा समावेश छ।

खेलकुदमार्फत युवालाई अगाडि बढाउने सोचअनुसार तीनवटै स्थानीय तहमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने र कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्ने उनले बताएका छन्। साथै, बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा मानव जोखिम न्यूनीकरण गर्न स्थायी पर्खाल निर्माण गर्ने योजना पनि अघि सारिएको छ।

धिरजको उम्मेदवारीलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा होइन, जेन–जी युवाको सपना साकार पार्ने अभियानका रूपमा हेरिएको छ। विकास, सुरक्षा, रोजगारी र सामाजिक न्यायलाई सँगै अघि बढाउने उनको दृष्टिकोणका कारण बाँके–१ मा उनको उम्मेदवारीलाई नयाँ पुस्ताको आशा र भरोसाका रूपमा लिइएको छ।

 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्