सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफू जनतालाई झुटा आश्वासन बाँड्न होइन, यथार्थ र जिम्मेवार राजनीति गर्न घरदैलोमा आएको स्पष्ट पारेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका कोइरालाले विगतमा चुनावको समयमा गरिने झुटा वाचाका कारण राजनीतिप्रति जनविश्वास कमजोर बनेको उल्लेख गरे ।
बाँके क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिकामा मतदाता भेटघाटका बेलामा उनले नेपाली कांग्रेसका उम्मेदवारले जनतासँग कहिल्यै झुटो नबोल्ने दाबी गरे ।
‘म तपाईंहरूलाई झुटो आश्वासन दिँदिनँ, मेरो क्षमताले गर्न सक्ने काम मात्रै गर्छु,’ उनले भने, ‘आफूले गर्न नसक्ने काममा उधारो र झुटो वाचा गर्ने मेरो बानी छैन । बरु चुनाव जितेपछि क्षेत्र नम्बर २ को विकास कसरी गर्ने भन्ने विषयमा तपाईंहरूकै सुझाव र सल्लाह लिएर अगाडि बढ्छु ।’
भेटघाटका क्रममा स्थानीयले उठाएका समस्यालाई सरकार र सदनसमक्ष पुर्याएर समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता उनले जनाए । आवश्यकता अनुसार स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकासका काम अघि बढाइने कोइरालाको भनाइ थियो ।
कार्यक्रममा डुडुवाका स्थानीय बासिन्दाले सिक्टा सिंचाई आयोजनाअन्तर्गत निर्माणाधीन सिधनिया शाखा नहरको विषयमा गुनासो राखेका थिए । नहरको काम अधुरो हुँदा हरेक वर्ष खेतीपातीको समयमा सिंचाई समस्या हुने गरेको उनीहरूको गुनासो थियो ।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले स्थानीय सरकारबाट सम्भव हुने कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको जानकारी दिए । ठूलो बजेट आवश्यक पर्ने योजनाका लागि भावी युवा नेता कोइरालामार्फत संघीय सरकारसँग पहल गरिने उनले बताए ।
‘हामीले गर्न सक्ने काम गाउँपालिकामार्फत गर्छौं, हाम्रो क्षमताभन्दा बाहिरका कामका लागि उहाँमार्फत संघीय सरकारबाट बजेट ल्याएर पूरा गर्नेछौं,’ चौधरीले भने ।