सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक रहँदा सेट ब्याटर लोकेश बम क्रिजमा भए पनि नेपाल जित नजिक पुगेर रोकियो।
लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए। दुवै ओपनर आउट हुँदा नेपालको स्कोर ४२/२ थियो।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले एक समय इंग्ल्यान्डलाई दबाबमा राखेको थियो। तर १५औं ओभरमा दीपेन्द्र साम करनद्वारा आउट भएपछि साझेदारी टुट्यो।
दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए। यसक्रममा उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने। लगत्तै कप्तान रोहित पौडेल पनि ३९ रन बनाएर आउट भए। उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रन जोडे।
बलिङतर्फ इंग्ल्यान्डका लियम डसनले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै १ चौका र ४ छक्कासहित उत्कृष्ट फिनिसिङ गरे।
इंग्ल्यान्डले ओपनर फिल साल्टलाई पहिलो बलमै गुमाएको थियो, उनलाई डेब्युटान्ट शेर मल्लले आउट गरेका थिए। ५७/३ को कठिन स्थितिमा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।
नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।