सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने बैंक नीति परिवर्तन हुनुपर्छः अमरसिंह पुन

आइतबार, माघ २५, २०८२

बाँके। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानको लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नको लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपालको लालपुर्जा छ । भुमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर बंैकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमुल्यन हो । जमिनको मुल्यांकन कम होला तर बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नुपर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’

सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिक प्रति सरकारले अन्याय गरेको पुनले बए। उनले भने, ‘जसले नेपालको अस्तित्व जोगाईदिनु भएको छ । जसले देशको सीमा सुरक्षामा चौकिदारी गरेका छन् । उनीहरुकैं जमिनको मुल्य मान्यता नहुनु दुःखद कुरा हो । मुंल्याकनमा कम होला, त्यो आफनो ठाउँमा छ । तर बैंकले धितो नराख्ने कुरा नयाँ पुर्ण छैन् ।’

बाँकेक खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेट्घाट गर्ने क्रममा पुनले यहाँको विकासको लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताएका हुन्  ।  

राधापुरमा यसअघि पनि नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माण काम भएको बताउँदै अब नयाँ योजनाहरु कार्यान्वयनमा आफुले पहल गर्ने बताए । राधापुरको विकासको लागि स्थानीय नागरिकसँगै छलफल गरेर अगाडी बढने उनले बताए। 

खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गरे। बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनता दुःख पाइरहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्