'म बन्न होइन, बाँके–३ बनाउने जिम्मेवारी लिएर आएको हुँ' – सुमन मल्ल

आइतबार, माघ २५, २०८२

बाँके । सहयोगी स्वभाव, निरन्तर उपस्थिती र कहिल्यै नथाक्ने नेतृत्वका कारण बाँकेमा नेकपा एमालेका युवानेतामध्ये चर्चा हुने नाम हो—सुमन मल्ल। व्यक्तिगत स्वार्थ र शक्तिका लागि होइन, बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका लागि दिनरात चुनावी मैदानमा खटिएका मल्ल यतिबेला मतदातामाझ विशेष भरोसाको पात्र बन्दै गएका छन्।

बाँके–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मल्लले अरूहरू राजनीति गरेर आफू बन्न आएको भए पनि आफू भने यो क्षेत्र बनाउन आएको स्पष्ट सन्देश दिएका छन्। यही स्पष्ट सोच, इमान्दार अभिव्यक्ति र काम गर्न सक्ने क्षमताका कारण उनी मतदातामाझ लोकप्रिय बन्दै गएको स्थानीय बताउँछन्।

नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूका अनुसार यस क्षेत्रमा विगतमा विभिन्न पार्टीले पटक–पटक बाहिरबाट उम्मेदवार ल्याएर जिताउँदा क्षेत्रको आवश्यकता, समस्या र विकासप्रति अपेक्षित ध्यान पुग्न सकेन। यही पृष्ठभूमिमा यसपटक एमालेले स्थानीय, युवा र जनतासँग प्रत्यक्ष जोडिएका उम्मेदवार सुमन मल्ललाई अघि सारेपछि बाँके–३ का बासिन्दामा नयाँ आशा जागेको छ। अब यस क्षेत्रको विकासले गति लिने विश्वास बढ्दै गएको कयौँ मतदाताको भनाइ छ।

वडाध्यक्षसमेत रहिसकेका मल्ल महामारीका बेला होस् वा कसैले समस्या भोगिरहेको अवस्थामा, मन खोलेर सहयोग गर्ने स्वभावका लागि परिचित छन्। कठिन परिस्थितिमा देखाएको उनको नेतृत्व, मानवीय संवेदनशीलता र जिम्मेवारी आज पनि स्थानीय बासिन्दाले सम्झिरहेका छन्। उनका थुप्रै सकारात्मक काम र कदमलाई स्थानीयले उदाहरणीय कार्यका रूपमा लिँदै आएका छन्।

मल्लले बाँके–३ को आर्थिक विकास, युवा लक्षितरो जगारी सिर्जना, कृषि सुधार, उद्योग–व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। सडक, सिँचाइ, बिजुली, खानेपानी,  गुणस्तरीय स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार सुदृढीकरणसँगै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समान पहुँच, संविधान र कानुनको सम्मान, सुशासन र न्याय प्रणाली मजबुत बनाउने उनको प्रतिबद्धता रहेको छ।

पछिल्ला दिनहरूमा सुमन क्षेत्र नम्बर ३ भित्रका सबै स्थानीय तह, गाउँ–गाउँ र टोल–टोलमा पुग्दा स्थानीयले माला र अबिरसहित स्वागत गर्दै आशिर्वाद र जितको शुभकामना दिइरहेका छन्। घरदैलो अभियानका क्रममा देखिएको भीड र उत्साहले उनको उम्मेदवारीप्रति जनसमर्थन थप सुदृढ हुँदै गएको संकेत गर्छ।

आम मतदाताहरू यसपटक सुमन मल्ललाई मत दिएर प्रतिनिधिसभामा पठाउने बताइरहेका छन्। उनीहरूका अनुसार मल्लको इमान्दार व्यवहार, विकासप्रेमी निरन्तर जनसम्पर्क र जनतासँग जोडिएको शैलीले बाँके क्षेत्र नम्बर ३ को समग्र विकास सम्भव हुने विश्वास स्थानीयमा बढ्दै गएको छ।

 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्