जंगली हात्तीको आक्रमणमा ६ वर्षीया बालिकाको मृत्य

आइतबार, माघ २५, २०८२

महेन्द्रनगर । एक बालिकाको जङ्गली हात्तीको आक्रमणमा मृत्यु हुँदा वृद्धा गम्भीर घाइते भएकी छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का चानदेवमा आज बिहान जङ्गली हात्तीले घर फोडेर आक्रमण गर्दा ६ वर्षीया बालिका रोजिना साउदको मृत्युु भएको प्रहरीले जानकारी दिएको छ। आक्रमणमा उनकी हजुरआमा ५५ वर्षीया पार्वती साउद घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज एकाबिहानै साढे २ बजे किसन सिंह साउदको घरमा जङ्गली हात्ती पसेको थियो। हात्तीको आक्रमणबाट जोगिन घरबाहिर निस्कने क्रममा पार्वती साउद र उनकी नातिनी रोजिनामाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी बिहान करिब साढे ३ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली खटिएको थियो। घाइते दुवैलाई उद्धार गरी आरएम अस्पताल झलारीमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

धनगढीस्थित नवजीवन अस्पतालमा उपचारकै क्रममाआज बिहान ६ बजेर १५ मिनेटमा बालिका रोजिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। घाइते पार्वती साउदको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्