सुधान्सु कोइराला भन्छन् - कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैन

शनिबार, माघ २४, २०८२

नेपालगञ्ज । धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने नेपालगञ्जका शिख र इसाई समुदायका अगुवाले बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुने भावी सांसदबाट यो कुराको अपेक्षा गरिएको उनीहरुको भनाई छ । 

धार्मिक हिसाबले अत्यन्तै संवेदनशील रहेको नेपालगञ्ज क्षेत्रमा विगतका दिनमा राजनीतिक फाइदा लिन खोज्ने ब्यक्तिको भूमिकाले धेरैलाई चिन्तित बनाएको ती अगुवाले बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालासँग शनिबार भएको छुट्टा–छुट्टै भेटघाटका क्रममा शिख र इसाई धर्मका अगुवाहरुले सबै धर्मलाई समान रुपले हेर्ने सांसदको आवश्यकता महसुस आसन्न चुनावमा गरिएको बताए ।

नेपालगञ्जको वीपी चोक नजिक रहेको गुरुद्वारामा आयोजित भेटघाटमा उक्त संस्थाका कोषाध्यक्ष हरिपाल सिंह, समुदायका अगुवा अमरजित सिंह, चरण जित सिंह लगायतले काँग्रेसका उम्मेदवार कोइरालाबाट आफूहरुलाई सहयोग हुने अपेक्षा गरेको बताए ।  

‘तपाईं युवा उम्मेदवार हुनुहुन्छ, पहिलो पटक चुनावी मैदानमा उत्रिनु भएको छ, जनताले फैसला गर्ने परीक्षामा तपाईं सामेल हुनुहुन्छ, तसर्थ तपाईंलाई जितको लागि अग्रिम शुभकामना छ,’ सिंहले भने । उनीहरुले आफ्नो समुदायको महान चार्ड गुरु नानक जयन्तीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिने नीतिगत ब्यवस्थाका लागि आवश्यक पहल गरिदिन कोइरालासँग आग्रह गरेका थिए । नागरिकता, लाइसेन्स जस्ता सरकारी प्रमाणपत्र बनाउने क्रममा अनेक झण्झट ब्यहोर्नु परेको गुनासो पनि उनीहरुले गरे । यस्तै शनिबार नै नेपालगन्ज–१२, कोरियनपुरस्थित ज्योति निवास चर्चमा आयोजित भेटघाटका क्रममा उपस्थित भएका इसाई समाजका अगुवाले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सक्षम, क्षमतावान र बेदागी ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कोइरालालाई अग्रिम शुभकामना दिए । उनीहरुले धार्मिक एकतालाई मजबुत हुने गरी काम गर्न पनि अनुरोध गरे । सो क्रममा चर्चका पास्टर डम्बर थापा लगायतले कोइरालालाई स्वागत तथा सम्मन गरेका थिए । 

दुबै ठाउँको भेटघाटका क्रममा कोइरालाले नेपाली कांग्रेसले सबै धर्मलाई समान ब्यवहार गर्ने गरेको बताए । कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद नगर्ने उनले प्रष्ट्याए । आफूले सबै धर्म, समुदायका लागि अभिभावक बनेर काम गर्ने प्रतिवद्धता जनाए । यहाँको धार्मिक सद्भावलाई बलियो बनाएर राख्न निर्वाचित भएपछि आफुले नेतृत्वकारी भूमिका निभाउने कोइरालाले वचन दिए । आफूलाई यो चुनावमा हरेक धर्म, समुदायबाट आशीर्वाद मिलिरहेको उनले सुनाए ।

उम्मेदवार कोइरालाले शनिबार नै डुडुवा गाउँपालिका वडा नम्बर ५ का मतदाता, नेपालगञ्जमा शिक्षक संघ, कुर्मी समुदायसँग भेटघाट गरेका छन् । यसैगरी नेपालगन्ज–४ गणेशपुरमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पनि उनी सहभागी भएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्