सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।
महिलालाई समान अधिकार दिलाउने र सशक्तिकरण गर्ने सवालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन महत्वपूर्ण अवसर भएको हुँदा महिलाहरूले यो अवसरलाई खेर जान दिन नहुने राईको भनाई थियो । नेकपा एमाले क्षेत्र नम्बर २ को महिला निर्वाचन परिचालन कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको बृहत महिला भेलामा उम्मेदवार राईले समान हक अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्ने बताएका थिए ।
प्रतिनिधिसभा सदस्यहरू खासगरी कानुन, नीति नियम बनाउने र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने भएको जानकारी दिँदै राईले आफू विजयी भएमा विगतमा आफूले कानुन र पूर्वाधार निर्माणमा हासिल गरेको अनुभवले थप उल्लेख्य काम गर्न सक्ने दाबी गरे । भेरी अस्पतालको सेवा(सुविधा विस्तारलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका एमाले उम्मेदवार राईले आफू प्रतिनिधिसभा सदस्य नहुँदा समेत बाँकेमा स्वास्थ्य सेवा सुदृढ बनाउन सक्रिय भएको जानकारी दिए । उनले प्रदीप यादव स्वास्थ्य मन्त्री हुँदा आफूले करिब सवा ३ अर्बको योजना भेरी अस्पतालका लागि पारेको भए पनि पछि यादव स्वस्थ्य मन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।
भेरी अस्पतालको सुविधा विस्तार गरेरै छाड्ने दृढता व्यक्त गरेका राईले भने, ‘मन्त्री छँदा भेरी अस्पतालमा नयाँ भवनहरू बनाउन सकें। अब त्यहाँ पर्याप्त दक्ष जनशक्तिको व्यवस्था गर्ने हो । र, सेवासुविधा पनि विस्तार गर्ने हो ।’ यसैबीच आजै उम्मेदवार राईले नेपालगञ्ज वडा नम्बर १८ मा पुगेर मतदाताहरूसँग भेटघाट गरेका छन् ।