मेरो जित र पराजयको समय तुलना गरौँ, काम कसले गर्छ स्पष्ट हुन्छ: इश्तियाक राई

शुक्रबार, माघ २३, २०८२

‍नेपालगञ्ज । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नम्बर २ बाँकेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आयआर्जन गर्न सक्षम गराउन आफू प्रयत्नरत रहेको बताएका छन् । आज वडा नम्बर २१ पुरैनीमा नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका राईले स्थानीय स्तरमै युवाहरूले काम पाउने र मनग्य आम्दानी गर्न सक्ने गरी आफूले योजना बनाइरहेको बताए ।

अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने बताएका उम्मेदवार राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गरे । उनले भने “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर, यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म अग्रसर हुन्छु ।”

निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्ष तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गरे । ‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन रु’’ राईले भने ।

पछिल्लो तीन बर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताए । निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने उनको भनाई थियो ।

आफूले यो पल्ट उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गरेका राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याए पनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताए । २०७४ सालमा २१ हजार ५ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित राई २०७९ मा २३ हजार ५ सय २० मत ल्याएर पराजित भएका थिए ।

बाँकेका केही राजनीतिज्ञ र विरोधी व्यक्तिहरू सधैं नै आफूलाई अनावश्यक बदनाम गर्न लागिपरेको आरोप पनि राईले लगाए ।  “इश्तियाक राईले जित्यो भने आफूहरू पछि परिन्छ भन्ने डरले केही मानिसहरू असम्बन्धित कुराहरूमा पनि मलाई जोडिदिन्छन् । स्थानीय तहका कामहरूमा समेत त्यहीँका जिम्मेवार व्यक्तिलाई केही नभनेर मलाई देखाइन्छ । यस्ता गलत कुराहरू जनताले बुझ्नु जरुरी छ,” राईले भने ।

राईले आजै वडा नम्बर १३ का मतदाताहरूसँग घरघरमै पुगेर भेटघाट गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्