सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त पालिका भएको बताएका छन्।
काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदीसँगै बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले राप्तीसोनारी गाउँपालिका वडा नं. ३, नारायणपुरमा प्रचार–प्रसार कार्यालयको शुक्रबार उद्घाटन गर्दै गौडेलले राप्तीसोनारी कृषि र पशुपालनका हिसाबले समेत उर्वर भूमि भएकाले यसको व्यवस्थापन र विस्तारमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए।
‘यहाँको सम्भावना र समस्याबारे म पूर्णरूपमा जानकार छु,’ उनले भने, ‘चुनावमा प्रतिबद्धता जनाएर काम नगर्ने प्रवृत्तिको व्यक्ति म होइन। पार्टीको जिल्ला सभापति भएकाले पनि यहाँका समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नु मेरो दायित्व हो।’ वडा सभापति शंकर महतराको सभापतित्वमा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको हो। त्यस अवसरमा समानुपातिक उम्मेदवार दीप नारायण वर्माले काँग्रेस समस्या देखाउने मात्र नभई समाधान गर्ने पार्टी भएको बताए। काँग्रेस बाँकेका पूर्व उपसभापति लाहुराम थारुले आदिवासी जनजातिका विभिन्न मुद्दा काँग्रेसकै पहलमा सम्बोधन भएको बताए। राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका थारुले आवेगमा लागेर विकासप्रेमी पार्टीविरुद्ध काम नगर्न कार्यकर्तालाई निर्देशन दिए।
उनले काँग्रेस परिवर्तन भएर आएको र अब देश परिवर्तन गर्ने अभियानमा लागेकाले आम नागरिकलाई यसबारे बुझाउन आग्रह गरे। कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि संगिता चौधरी, प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकी, निवर्तमान प्रदेश सभापति लक्ष्मण थारु लगायतले मन्तव्य राखेका थिए। त्यसैगरी शुक्रबार नै वडा नं. ४ र ५ मा पनि प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ। वडा नं. ४ मा वडा सभापति कान्छा थारुको सभापतित्वमा बैजापुर चोकमा तथा वडा नं.५ मा वडा सभापति बालकृष्ण थारुको सभापतित्वमा बिनौना मन्दिर, पिपल चौतारामा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए। वडा नं.४ मा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका
उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार वर्मा, पूर्व उपसभापति थारु, क्षेत्रीय सभापति केसी लगायतले सम्बोधन गरेका थिए। त्यसैगरी वडा नं।५ को प्रचार–प्रसार कार्यालय उद्घाटन सभालाई प्रजातान्त्रिक सेनानी संघका सचिव डिल्ली रावत, नेतृ मनिषा थारु लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू संगिता सुवेदी, सीता कार्की, नेतृ केशकुमारी ओली लगायतको सहभागिता रहेको थियो। सो अवसरमा एमालेका स्थानीय नेता धर्मराज पुनसहितका कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको प्रवक्ता गिरीले बताए।