एकैदिन चितुवाको आक्रमणमा बर्दियामा दुई जनाको मृत्यु

शुक्रबार, माघ २३, २०८२

मधुबन। बर्दियामा एकै दिन चितुवाको आक्रमण परेर दुई जनाले ज्यान गुमाएका छन् । जंगलमा घाँस काट्न गएका एक महिला र एक पुरुषको चिनुवाको आक्रमणमा परि मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुबन नगरपालिका – ९ की ४९ बर्षीया मैसरा डाँगीको पनि बिहीबार बेलुकी पख चितुवाको आक्रमणबाट मृत्यु भएको हो । नेपाल – भारत सीमाना क्षेत्रमा डाँगी स्थानीयसँग घाँस काट्न गएको समयमा दिउँसो २ बजेतिर चितुवाले आक्रमण गरि भारत तर्फको जंगलमा लगेको थियो ।

खोजी गर्ने क्रममा डाँगीको शब बेलुकी साढे ७ बजेतिर नेपाल – भारत सीमा स्तम्भ ७० नम्बरदेखि करिब १०० मिटर पर नेपाल तर्फकै अरहर बारीमा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ बर्षीय नन्दु रोकायको बारबर्दिया नगरपालिका – ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमण बाट मृत्यु भएको थियो ।यो घटना बिहीबार बिहान साढे ११ बजेको थियो ।

माघ १५ गते मात्रै बारबर्दिया नगरपालिका – ११ जब्दीका ५० बर्षीय प्रेमबहादुर घर्ती मगर स्थानीय जनमुक्ती सामुदायिक वनमा घाँस काटन गएको अवस्थामा चितुवाको आक्रमण बाट गम्भीर घाइते भएका थिए । उनको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय बर्दियामा बाघ र चितुवाको आक्रमणका घटना बढ्दै गएको देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्