सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा कर्णाली विकास बैंक घोटला प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पशुपति दयाल मिश्रलाई लक्षित गर्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा चुनावी अफवाह फैलाइएको भन्दै नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष मोहित शाहले आपत्ति जनाएका छन् ।
यही अवस्थालाई आधार बनाएर आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले अस्पतालको क्याबिनभित्रबाटै चुनावी रणनीति बनाइरहेको भन्दै नियोजित रूपमा अफवाह फैलाइएको अध्यक्ष शाहको जिकिर छ ।
नगर अध्यक्ष शाहले सामाजिक सञ्जालमार्फत गरिएको उक्त प्रचारप्रति प्रश्न उठाउँदै समाचारको विश्वसनीयतामाथि पनि शंका व्यक्त गरेका छन् । उनले निर्वाचन आचारसंहिता तथा पत्रकारिताको मूल्य–मान्यताको उल्लंघन भएको आरोप लगाउँदै, यदि साँच्चिकै अस्पतालको क्याबिनभित्र राजनीतिक गतिविधि भएको हो भने त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।
“क्याबिनभित्रबाट आवाज आएको भनिन्छ भने भित्र पसेर फोटो किन खिचिएन?” उनले प्रश्न गरेका छन् । अस्पतालमा उपचाररत बिरामीलाई चुनावी गतिविधिसँग जोडेर प्रचार गर्नु अमानवीय र हाँस्यास्पद भएको उल्लेख गर्दै अध्यक्ष शाहले सामाजिक सञ्जालमा गरिएका यस्ता दाबीप्रति व्यापक आलोचना र व्यंग्य भइरहेको बताए ।
अध्यक्ष शाहले भनेका छन्, “मिश्रको उमेर र स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दै गाउँघरबाट आएका आफन्त र शुभेच्छुकको सामान्य भेटघाटलाई चुनावी रणनीतिसँग जोड्नु मानवीय संवेदना विपरीत हो ।”