राष्ट्रिय निकुञ्ज आसपासका मतदाता भन्छन् - मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ?

बिहीबार, माघ २२, २०८२
Honor 600 pro

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके क्षेत्र नम्बर १ मा उम्मेदवारहरू मत माग्दै घरदैलो अभियानमा व्यस्त छन्। तर बाँके राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाको मनमा चुनावी नाराभन्दा ठूलो एक प्रश्न गुञ्जिरहेको छ— “हाम्रो सुरक्षा खै? ”

स्थानीय मतदाताहरू भन्छन्, “हामी हरेक निर्वाचनमा उम्मेदवारलाई मत दिन्छौँ। तर वर्षौंदेखि जंगली जनावरको आक्रमणमा हामीले आफ्ना मान्छे गुमाइरहेका छौँ। के हाम्रो जीवनको मूल्य छैन?”

यस क्षेत्रका गाउँहरूमा महिनौंपिच्छे जंगली जनावरको आक्रमणमा मानव ज्यान जाने क्रम रोकिएको छैन। खेतबारीमा काम गर्न जाँदा, घरबाट बाहिर निस्कँदा, यहाँसम्म कि आफ्नै आँगनमा पनि मानिस सुरक्षित छैनन्।

मानव मात्र होइन, बालीनाली नष्ट भइरहेका छन्, घरपालुवा जनावर मारिएका छन्, र जीवनयापनको आधार नै धरापमा परेको छ।

स्थानीय बासिन्दाको पीडा शब्दमा सीमित छैन—यो आक्रोश, डर र असहाय अवस्थाको चित्कार हो।“हामी जंगली जनावरभन्दा कम महत्त्वका मानव हौँ र?” यो प्रश्न उनीहरूले उम्मेदवारहरूलाई मात्र होइन, राज्य व्यवस्थालाई पनि सोधिरहेका छन्।

चुनावका बेला आश्वासन दिन सजिलो हुन्छ। तर पीडितको प्रश्न स्पष्ट छ— यो समस्याको समाधान कसले गर्छ? कसरी गर्छन् ? हाम्रो  जीवनको सुरक्षा कसले सुनिश्चित गर्छ?

बाँके राष्ट्रिय निकुञ्ज आसपासका जनताले अब नारामा होइन, निश्चिन्त जीवनको ग्यारेन्टी चाहेका छन्। उनीहरू निर्धक्क भएर खेतबारी जान चाहन्छन्, आफ्ना छोराछोरीलाई सुरक्षित भविष्य दिन चाहन्छन्।

अब प्रश्न उम्मेदवारहरूलाई—

मत माग्न आउँदा सुन्ने हिम्मत छ कि छैन? जंगली जनावर पीडितको आँसु पुछ्ने नीति छ कि छैन? 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्