फागुन २१ को निर्वाचन सफल बनाउन प्रहरीको भूमिका निर्णायक: प्रधानमन्त्री कार्की

सोमबार, माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने  निर्वाचन सफल बनाउन सुरक्षा निकाय, विशेषगरी प्रहरीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन्। कार्कीले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य बनाउन प्रहरीको व्यावसायिकता अपरिहार्य रहेको उल्लेख गरिन्।

काठमाडौंमा आज आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई देशको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धि भएको बताइन्। उनले सुरक्षाकर्मीलाई कुनै पनि प्रकारको राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट टाढा रहँदै जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले नेपाल प्रहरी र आम नागरिकबीचको सम्बन्ध समयसँगै अझ बलियो बन्दै गएको उल्लेख गरिन्। उनले निष्पक्ष र जिम्मेवार सुरक्षा संयन्त्र नै लोकतन्त्रको मजबुत आधार हुने धारणा राखिन्।

अपराधका स्वरूपहरू परिवर्तन भइरहेको सन्दर्भमा उनले प्रहरी निरीक्षकहरूको भूमिका अब परम्परागत दायराभन्दा बाहिर जानुपर्ने बताइन्। साइबर अपराध, संगठित र वित्तीय अपराधदेखि बहुदेशीय अपराध तथा सामाजिक द्वन्द्वका नयाँ चुनौतीहरू सामना गर्न प्रहरी नेतृत्व समाधानमुखी र दूरदर्शी हुनुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह