फागुन २१ को निर्वाचन विकास चाहने र देशलाई क्षति पुर्‍याउनेबीचको लडाइँ हो’ : इश्तियाक राई

आइतबार, माघ १८, २०८२

नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईको प्रचारप्रसार गर्ने उद्देश्यका साथ निर्वाचन क्षेत्रभरि सञ्जाल विस्तार भइरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ का सबै वडामा  नेकपा वडा कार्यालयमार्फत प्रचारप्रसारको सञ्जाल विस्तार गरिँदैछ । यस्ता वडा कार्यालयहरू २७ वटै वडामा खोलिसकिएकोमा आज विहान वडा नम्बर २ को औपचारिक उद्घाटन गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रहेका राईको प्रचारप्रसारलाई निर्वाचन क्षेत्रभर विस्तार गर्न वडास्तरीय सञ्जालहरू प्रभावकारी हुने नेकपा एमाले बाँकेको विश्वास छ। वडा नम्बर २ स्थित कार्यालयको उद्घाटनपछि संक्षिप्त भनाई राख्दै एमालेबाट प्रतिनिधिसभा उम्मेदवार राईले फागुन २१ को निर्वाचनको फरक महत्व रहेको बताए । उनले भने, ‘यो निर्वाचन देशमा विकास निर्माण चाहने पक्ष र अदृश्य शक्तिहरूको उक्साहटमा देशलाई क्षति पुर्‍याउनेहरू बीचको लडाइँ हो ।’

यसैबीच उम्मेदवार राईले आज  वडा नम्बर २ घरबारी टोल र वडा नम्बर ३ एकलैनी क्षेत्रमा पुगेर मतदातालाई भेटेका छन् । उनले ती क्षेत्रका मतदाताहरूसँग भेटेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेकपा एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

मतदातासँगको भेटघाटका क्रममा राईसँगै एमालेबाट समानुपातिकतर्फका उम्मेदवार विजया धिताल, एमाले नेता कृष्ण प्रसाद श्रेष्ठ लगायत थिए ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह