सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह(मनु) पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। कैलाली–५ बाट उम्मेदवारी दर्ता गराएपछि उनी निरन्तर मतदाता भेटघाटमा व्यस्त छन्।
कैलाली–५ कै स्थानीय परिवारमा जन्मिएर हुर्किएका शाहको घर अहिले पनि यही क्षेत्रमा रहेको छ। स्थानीय जनजीवन, समस्या र आवश्यकतासँग नजिकबाट परिचित उनी घरदैलो अभियानमार्फत आफ्नै टोल–बस्तीका मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका शाहले गुणस्तरीय स्वास्थ्य , विकास, रोजगारी सिर्जना, खेलकुद प्रवर्द्धन, गुणस्तरीय शिक्षा र सामाजिक न्यायलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। राजनीति शक्ति आर्जनका लागि होइन, सेवाका लागि हुनुपर्छ भन्ने मान्यताका साथ इमानदार र जनउत्तरदायी नेतृत्व दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
बेरोजगारी, दलित, महिला, अल्पसंख्यक तथा न्यून आय भएका समुदायले भोग्दै आएका समस्या समाधान गर्नु नै आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको शाह बताउँछन्।
‘युवाहरूको विदेश पलायन रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा अब गम्भीर भएर सोच्नुपर्ने समय आएको छ। भदौको आन्दोलन त्यसैको परिणाम हो,’ शाहले भने, ‘यसका साथै दलित, महिला, अल्पसंख्यक र आर्थिक रूपमा पछाडि पारिएका नागरिकका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो।’
कैलाली–५ का मतदाताले पार्टीभन्दा पनि व्यक्ति हेरेर मत दिने गरेको शाहको भनाइ छ। नयाँ दलभन्दा पनि पुरानै दलबीच मुख्य प्रतिस्पर्धा हुने संकेत गर्दै उनले भने, ‘नयाँ दलका तर्फबाट यहाँ बलियो प्रतिस्पर्धी छैनन्। रास्वपाले काठमाडौं बस्ने व्यक्तिलाई उम्मेदवार बनाएको छ। यहाँका मतदाताले पार्टी होइन, काम गर्न सक्ने व्यक्ति खोज्छन्। यसको उदाहरण गोपी हमाल हुन्।’
शाहको राजनीतिक यात्रामा पार्टी संघर्ष, जनआन्दोलन र संगठन विस्तारमा उल्लेखनीय योगदान रहेको उनका समर्थकहरूको भनाइ छ। सरल जीवनशैली, इमान्दार स्वभाव र कार्यकर्तामैत्री नेताका रूपमा चिनिएका शाह पार्टी कार्यकर्ता र स्थानीय जनतासँगको निरन्तर सम्पर्कका कारण चुनावी अभियानमा थप मजबुत देखिएका छन्।
कांग्रेसका शाहसँगै यस क्षेत्रमा एमालेबाट यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट प्रेमबहादुर आले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।