बाँकेमा कांग्रेस उम्मेदवारको जोड: विकास, स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षण

शनिबार, माघ १७, २०८२

बाँके । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनलाई लक्षित  गर्दै  नेपाली कांग्रेसका उम्मेदवारहरूले बाँकेको विकास, लोकतन्त्रको रक्षा र सामाजिक मूल्य–मान्यताको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले बाँकेको समग्र विकासका लागि कांग्रेसको जित अनिवार्य रहेको बताएका छन् । उनले विकास निर्माणका कामलाई आफ्नो उच्च प्राथमिकतामा राख्दै ठूला र सम्भावनायुक्त योजनाहरूलाई समयमै टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

उम्मेदवार पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रको विस्तार तथा पर्यटकीय क्षेत्र विकासका लागि उपयुक्त रुट निर्माण गर्नुपर्नेमा जोड दिए । बदलिँदो राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि कांग्रेसले स्पष्ट जनमत माग्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले कांग्रेसले यसपटक ठूलो संख्यामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको उल्लेख गर्दै पार्टीभित्र क्रमिक सुधार र परिवर्तन भइरहेको दाबी गरे । साथै, पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा सक्रिय हुन आह्वानसमेत गरे ।

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले कांग्रेसप्रति जनताको विश्वास अझै बलियो रहेको बताएका छन् । चुनावको मुखमा नयाँ राजनीतिक दल देखिए पनि सचेत मतदाताको भरोसा कांग्रेसमै रहेको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरेर कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

त्यसैगरि बाँके -२ बाट उम्मेदवार रहेका कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले किसानका पीडा, युवाको बेरोजगारी र सडक सुरक्षा , शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता विषयलाई प्राथमिकतामा राखेका छन्। उनले सपना सत्ता होइन—बाँकेको दिगो विकास, गुणस्तरीय निर्माण, युवालाई देशमै रोजगारी र गरिबको जीवनमा परिवर्तन ल्याउनु रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वले आसन्न निर्वाचनले देशलाई स्थायित्व, विकास र लोकतान्त्रिक मूल्यतर्फ अघि बढाउने अपेक्षा गरिएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्