निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग कडा, उल्लंघनमाथि निगरानी तीव्र

शनिबार, माघ १७, २०८२
Honor 600 pro

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनलाई थप प्रभावकारी बनाएको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गर्दै यसको पूर्ण पालना गराउन सरोकारवाला सबै पक्षलाई सचेत गराइरहेको जनाएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार तथा विभिन्न संस्थासँग सम्बन्धित २१ जनासँग स्पष्टीकरण माग गरिएको छ। तीमध्ये पाँच जनाबाट मात्र जवाफ प्राप्त भएको र बाँकीको हकमा जवाफका लागि दबाब दिइरहेको आयोगले जनाएको छ।

निर्वाचन मर्यादा विपरीत झुटा, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने गतिविधिमाथि कडा निगरानी भइरहेको आयोगको भनाइ छ। यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित नियामक निकायसँगको समन्वयमा कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ।

आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाइ सक्रिय रूपमा परिचालित रहेको आयोगले जानकारी दिएको छ। उक्त इकाइले पहिचान गरेका ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

निर्वाचनको स्वच्छता र गरिमामाथि आँच आउने कुनै पनि गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्