सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा पाँच जना उम्मेदवार र दुई सङ्घसंस्थासँग लिखित स्पष्टीकरण माग गरेको छ।
आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहसहित विभिन्न क्षेत्रका उम्मेदवारहरू कारबाहीको दायरामा परेका हुन्। बालेन शाहले सोही क्षेत्रका अर्का उम्मेदवार केपी शर्मा ओलीको सामाजिक सञ्जाल पोस्टमा ‘हत्यारा’ भन्ने शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।
यस्तै रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोसल भुसाललाई ‘जेन–जी आन्दोलनसँग जोडिएको जुत्तालाई चुनाव चिन्हजस्तो बनाएर प्रचार गरेको’ आरोपमा स्पष्टीकरण सोधिएको छ।
सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङमाथि चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको तथा उनीहरूलाई टिसर्ट लगाएर प्रचार गराएको आरोप लागेको छ। आयोगले यसलाई आचारसंहिता उल्लङ्घन मानेको छ।
भक्तपुर–२ बाट एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै ‘छाउरा’ भन्ने शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण मागिएको छ। सोही क्षेत्रकी अर्की उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई पनि उम्मेदवारविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको तथा ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको आरोपमा आयोगले पत्र पठाएको जनाएको छ।
उम्मेदवारसँगै दुई सङ्घसंस्थामाथि पनि आयोगले प्रश्न उठाएको छ। स्वास्थ्य स्वयंसेवक सङ्घले आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा स्पष्टीकरण सोधिएको छ भने शिक्षक सरुवासम्बन्धी एक निर्णयको विषयमा पनि आयोगले सम्बन्धित पक्षसँग जवाफ मागेको छ।
निर्वाचन आयोगले आचारसंहिता पालना नगर्ने जो–कोहीमाथि कडा निगरानी र आवश्यक कारबाही अघि बढाइने स्पष्ट पारेको छ।