राजनीति बोल्ने होइन, गरेर देखाउने विषय हो : गगन थापा

मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीमा केवल चुनावी समर्थन जुटाउन मात्र नभई यहाँका मानिस र माटोसँग दीर्घकालीन सम्बन्ध गाँस्ने उद्देश्यसहित आएको बताएका छन्।

मंगलबार बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सर्लाही–४ का उम्मेदवारसमेत रहेका थापाले चुनावका बेला मात्र देखिने र पछि हराउने नेताको भूमिकामा आफू नदेखिने स्पष्ट पारे। उनका अनुसार हतारमा आएर फोटो खिच्ने, हात हल्लाउने र औपचारिकता पूरा गरेर फर्किने शैली आफ्नो स्वभाव होइन।

कार्यकर्ताहरूले स्थानीय भाषाका केही शब्द प्रयोग गर्न सुझाव दिएको उल्लेख गर्दै थापाले ताली बटुल्नका लागि बनावटी प्रयास नगर्ने बताए। “एक रात रटेर दुई शब्द बोल्नु मेरो उद्देश्य होइन,” उनले भने, “जनप्रतिनिधि भएपछि समय लिएर यहाँको भाषा सिक्नेछु, मानिसहरूलाई नामले चिन्नेछु र आत्मीय ढंगले बोल्ने अवस्थामा पुगेरै छाड्छु।”

काठमाडौंमा सांसद रहँदा गैर–नेवार हुँदाहुँदै पनि नेवार समुदायको संस्कृति, जात्रा र चाडपर्वसँग घुलमिल भएर विश्वास जितेको अनुभव स्मरण गर्दै थापाले सर्लाहीमा पनि त्यस्तै अपनत्व निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफू चटके भाषण र नौटङ्कीमा विश्वास नगर्ने नेता भएको बताउँदै उनले सर्लाही–४ का जनताको साथी, भाइ वा छोराको भूमिकामा रहेर काम गर्ने धारणा राखे। थापाले केही दिन निरन्तर सोही क्षेत्रमा बस्ने, त्यसपछि पार्टीको कामका लागि काठमाडौं गएर पुनः फर्कने र सकेसम्म बढी समय जनताको घरदैलोमा बिताउने योजना पनि सुनाए।

उनका अनुसार राजनीति भाषणभन्दा व्यवहारले बोल्नुपर्छ, र सर्लाहीसँगको सम्बन्ध पनि त्यही आधारमा अघि बढाइनेछ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्