महामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई पत्र, गगन थापाले खोजे देउवाको साथ

मंगलबार, माघ १३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै संगठनलाई सक्रिय बनाउने उद्देश्यले देशभरका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र पठाएको छ। परिपत्रमार्फत पार्टीभित्रका हार–जितका विषयमा नअल्झिन र पूर्ण रूपमा निर्वाचन केन्द्रित हुन नेतृत्वले आग्रह गरेको छ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीलाई अघि बढाउन निवर्तमान सभापति शेरबहादुर देउवाको भूमिका सहयोगी रहने विश्वास व्यक्त गरिएको छ।

पार्टीले विगतका कमजोरीहरू स्वीकार गर्दै आत्मसमीक्षा गरिएको उल्लेख गरेको छ भने हालसम्म हासिल उपलब्धिलाई समयअनुकूल संस्थागत गर्दै अघि बढ्ने संकल्प पनि दोहोर्‍याएको छ।

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको प्रदर्शनपछि मुलुकको राजनीतिक परिवेश थप संवेदनशील बनेको जनाउँदै यस्तो अवस्थामा सबै तहका नेता–कार्यकर्ताले उच्च मनोबल, एकता र जिम्मेवार प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ।

आगामी निर्वाचनमा कांग्रेसको पक्षमा व्यापक जनसमर्थन निर्माण गरी पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै निकायले आ–आफ्नो तहबाट रणनीतिक र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समय आएको परिपत्रमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्