Dashain Banner
Dashain Banner

मणिराम खरालले सम्हाले राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सोमबार, माघ १२, २०८२

बाँके । राप्ती सोनारी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा मणिराम खरालले जिम्मेवारी सम्हालेका छन्। यसअघि सुर्खेतको चिङ्गाड गाउँपालिकामा कार्यरत रहेका खराल नियमित सरुवा प्रक्रियाअनुसार बाँकेको राप्ती सोनारी सरुवा भएका हुन्।

आज गाउँपालिकामा आयोजित परिचयात्मक तथा स्वागत कार्यक्रममा उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत खराललाई औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा गाउँपालिकाको समग्र अवस्था, प्रशासनिक संरचना, हाल सञ्चालनमा रहेका विकास आयोजनाहरू, सेवा प्रवाहको अवस्था र आगामी कार्ययोजनाबारे प्रमुख प्रशासकीय अधिकृत खराललाई जानकारी गराइएको थियो।

कार्यवाहक अध्यक्ष थारुले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक क्षमता थप सुदृढ हुने, सुशासन प्रवर्द्धन हुने र नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत खरालले पनि स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकसँग सहकार्य गर्दै पारदर्शी, उत्तरदायी र नागरिक–मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले खरालको कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्