सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँकेका कांग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले आफूहरुको मालिक नै जनता भएकाले प्रत्येक जनताको घर–घरमा पुगेर कांग्रेस कार्यकर्ताले आफ्ना उम्मेदवारका लागि मत माग्ने बताएका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके -१ का उम्मेदवार रहेका बाँके जिल्ला सभापति गौडेलले भने, ‘हामीले जनताको घर–घरमा पुगेर मत माग्नुपर्छ, आशिर्वाद माग्नुपर्छ, हामी नेपाली कांग्रेसका टोलदेखि क्षेत्रसम्मका तमाम साथीहरु तीन वटै निर्वाचन क्षेत्रमा अहोरात्र खटिएर नेपाली कांग्रेसलाई विजयी गराउनेछौं ।’
चुनावका लागि टिकट ल्याउन पार्टीभित्र एउटा निश्चित अवधिमा आन्तरिक प्रतिस्पर्धा भए पनि पार्टीले निर्णय गरेर उम्मेदवार बनाइसकेको अवस्थामा अब एक ढिक्का भएर सबै कांग्रेसलाई जिताउन लाग्नुपर्ने गौडेलले बताए । ‘आज हामीहरु उम्मेदवार छौं, अर्को पटक अरु साथीहरुको पालो आउँछ, सबै कार्यकर्ताको भावनालाई कदर गरेर तीन वटै क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार खटाएको छ, सबै साथीहरुले पालो पाउनुहुनेछ,’ उनले भने ।
२०७९ सालको स्थानीय तहमा पार्टीभित्र सबै एक ढिक्का भएर बाँकेका स्थानीय तहहरुमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भएको स्मरण गराउँदै उम्मेदवार गौडेलले यस पटक पनि सबै नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुन जरुरी रहेको बताए।
उम्मेदवारका विषयमा टिका–टिप्पणी गर्नु भन्दा पनि पार्टीको मार्गदर्शन र आदेश अनुसार चुनावमा अगाडि बढ्नुपर्ने उनको भनाई छ ।