आज राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा मतदान हुँदै

आइतबार, माघ ११, २०८२

काठमाडौँ । राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। 

निर्वाचन आयोगले यस निर्वाचनका लागि सातै प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। कुल १८ रिक्त पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज बाँकी १७ पदका लागि मात्र मतदान हुन लागेको हो। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १७ पदका लागि सातै प्रदेशमा मतदान स्थल र केन्द्रहरू निर्धारण गरिएको छ।

आयोगले कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका लागि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशका लागि हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकेको छ। 

त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयहरूमा मतदानको व्यवस्था मिलाइएको छ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्