मधेशबाट चुनावी अभियान थाल्दै कांग्रेस, माघ १६ मा जनकपुरमा विशाल सभा

शनिबार, माघ १०, २०८२
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको औपचारिक अभियान मधेश प्रदेशबाट थाल्ने भएको छ। पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय विशाल सभा आयोजना गर्दै चुनावी गतिविधिलाई तीव्र बनाउने तयारी गरेको हो।

जनकपुरमा हुने उक्त सभालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टीले उपसभापति शर्मालाई केन्द्रीय चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ।

सभाको सम्पूर्ण केन्द्रीय समन्वय उपसभापति शर्माकै नेतृत्वमा हुने बताइएको छ। मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार सभाको तयारीका लागि प्रदेश समितिको बैठक शनिबार बस्दैछ।

“चुनावी प्रचारलाई प्रभावकारी बनाउन आज प्रदेश समितिको बैठक बस्दैछ,” गुप्ताले जानकारी दिए, “माघ १६ गते जनकपुरमा हुने बृहत् सभामा ठूलो जनसहभागिता रहने अपेक्षा गरेका छौं।”

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार रहेकाले मधेश क्षेत्र पार्टीको प्रमुख केन्द्रमा रहेको छ। यसपटकको निर्वाचनमा अधिकांश राजनीतिक दलहरूले मधेशलाई प्राथमिकतामा राख्दै आफ्ना गतिविधि केन्द्रित गरिरहेका छन्।

यसअघि जनकपुरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा आयोजना गरेको थियो, जहाँ काठमाडौंका पूर्वमेयर बालेन शाहले पहिलोपटक औपचारिक रूपमा चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्