सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको समन्वय एवम् सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर कार्यक्रम) को सहयोगमा वडा नम्बर ३ को कार्यालय परिसरमा कृत्रिम घटना अभ्यास गराइएको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा गरिएको कार्यक्रममा समुदायकै मानिसहरु सहभागी भई कृत्रिम घटना अभ्यास गरेका थिए ।
भूकम्प पूर्व, भूकम्प गइरहेको समय र तत्पश्चात गर्नुपर्ने क्रियाकलापहरु समेटेर कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले बताए । कृत्रिम घटना अभ्यासमा खोज, उद्दार, राहत र पुनःस्थापनाका चरणहरुलाई सिलसिलाबद्ध रुपमा देखाइएको थियो ।
कृत्रिम घटना अभ्यासले समुदायमा सचेतना प्रबद्र्धनसंगै भूकम्पबारेको बुझाईमा स्पष्ट ल्याउने विश्वास गरिएको छ । त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष मो अयुब सिद्दिकी लगायतले कृत्रिम घटना अभ्यासको अवलोकन गरेका थिए । नगर प्रमुख विष्टले नेपालगञ्ज भूकम्पको जोखिममा रहेकोले पूर्व तयारी र प्रतिकार्यका लागि योजनाबद्ध ढंगले काम भइरहेको बताए । उनले सुपर कार्यक्रमले यसमा सहयोग गरिरहेकोले अझ सहज भइरहेको उल्लेख गरे ।
सुपरको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा ४०० बढी विपद् स्वयंसेवक तयार गरिएको छ । यस्तै नेपालमै पहिलोटपक नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम पनि लागू गरेको छ । भूकम्पपछि घरमा भएको क्षति यकिन गरेर आवास बीमा प्रदान गरिन्छ । विद्यालय स्तरमा समेत भुकम्पीय जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास गरिएको शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।