नेपालगञ्जका व्यवसायी समुदायद्वारा कांग्रेस उम्मेदवार सुधांशु कोइरालालाई समर्थन

बिहीबार, माघ ८, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुधांशु कोइरालालाई नेपालगञ्जका व्यवसायी समुदायले एकजुट हुँदै विजयको शुभकामना तथा समर्थन व्यक्त गरेका छन्।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको नेतृत्वमा गएको टोलीले आज  नेपालगञ्जमा उम्मेदवार सुधांशुसँग भेटघाट गर्दै आगामी निर्वाचनमा सफलताको कामना गरेको हो। भेटघाटका क्रममा व्यवसायी समुदायका समस्या, चुनौती र अपेक्षाबारे समेत छलफल भएको थियो।

संघका सचिव हिमनाथ पौडेलका अनुसार लोकतान्त्रिक मूल्यको संरक्षण, निजी क्षेत्रको सम्मान र व्यावसायिक वातावरण सुदृढ बनाउने नेतृत्वको आवश्यकता महसुस गर्दै कांग्रेस उम्मेदवार सुधांशुलाई समर्थन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष थापाले पछिल्लो समय नेपालको राजनीतिमा युवाको भूमिका निर्णायक बन्दै गएको उल्लेख गरे। उनले युवाको भावना बुझ्न सक्ने र युवासँग संवाद गर्न सक्ने नेतृत्व आजको आवश्यकता भएको बताउँदै सुधांशु युवा, ऊर्जाशील र स्पष्ट दृष्टिकोण भएका नेता रहेको धारणा राखे। उनले सुधांशुको जित सुनिश्चित रहेको र यसमा नेपालगञ्जका व्यवसायीहरू एकजुट रहेको बताए।

त्यस अवसरमा उम्मेदवार सुधांशु कोइरालाले उपस्थित व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै आफ्नो जित केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण व्यवसायी समुदाय र आम नागरिकको जित हुने बताए। नेपालगञ्ज बाँके जिल्लाको प्रमुख व्यावसायिक केन्द्र भए पनि व्यवसायीहरूको समस्या समयमै सम्बोधन हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे। निर्वाचित भए व्यवसायीहरूको हक–हित संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा व्यावसायिक सुरक्षाका लागि आवश्यक नीतिगत पहललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेस बाँकेका जिल्ला सचिवसमेत रहेका सुधांशुले व्यवसायीहरू लोकतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै नीति निर्माण तहमा उनीहरूको आवाज पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

भेटघाट कार्यक्रममा संघका अध्यक्ष थापासहित उपाध्यक्षहरू धुव्र दाहाल, प्रदीप गुप्ता र उमा ग्रान्डन, सचिव हिमनाथ पौडेल, सहसचिव मख्खनबहादुर धामी, कोषाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ तथा सदस्यहरू बद्री श्रेष्ठ, सन्तोष कुमार पौडेल, सुरेश परियार र शालिक सुवेदी सहभागी थिए। साथै सल्लाहकार तथा नेपाल ट्रेड युनियन बाँकेका अध्यक्ष तोजिन्द्र विक, व्यवसायी सुरेन्द्र श्रेष्ठलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्