देशभरमा उम्मेद्बारी दर्ता भएका ३४ सय ८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध उजुरी

बुधबार, माघ ७, २०८२
Honor 600 pro

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका कुल ३ हजार ४८६ उम्मेदवारमध्ये जम्मा पाँच जना विरुद्ध मात्र उजुरी परेको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मङ्गलबार भएको मनोनयन दर्तापछि बुधबार निर्धारित समयभित्र यी उजुरीहरू प्राप्त भएका हुन्।

प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ बमोजिम उम्मेदवारको योग्यता पुगेको छैन भनी दाबी विरोधका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो। 

सो अवधिमा परेका उजुरीहरूमाथि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई प्रमाणसहित उपस्थित हुन सूचना जारी गरिसकेका छन्। आयोगको कार्यतालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म यी उजुरी र मनोनयनपत्रमाथि जाँचबुझ गरी निर्णय लिइनेछ।

निर्वाचन आयोगले माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ भने सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार यस निर्वाचनमा ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना तेस्रो लिङ्गी गरी कुल ३ हजार ४८६ उम्मेदवार चुनावी मैदानमा छन्। सबै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन सम्पन्न भएको र उजुरीको सङ्ख्या निकै कम हुनुले निर्वाचन प्रक्रिया सहज रूपमा अघि बढेको आयोगको निष्कर्ष छ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्