सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । जसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीतिलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।
बैठकमा गृह र रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको मुख्य एजेण्डा यसअघि नै पारित भई कार्यान्वयनमा रहेको 'एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२' बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन र बन्दोबस्तीको योजनाका बारेमा विस्तृत समीक्षा गर्नु रहेको थियो। सुरक्षा निकायहरूले हालसम्मको तयारी र सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै प्रभावकारी समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
बैठकले निर्वाचनका कार्यक्रमहरूलाई व्यवस्थित र मर्यादित बनाउन समन्वयका लागि गठन गरिएका सबै संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाउने निर्णय गरेको छ।
राजनीतिक दल र उम्मेदवारहरूको चुनावी प्रचार–प्रसार र अभियानलाई भयरहित वातावरणमा सञ्चालन गर्न सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिने निर्णय समेत गरिएको छ। उम्मेदवारी दर्तापछि बढ्दो राजनीतिक सरगर्मीलाई मध्यनजर गर्दै सुरक्षा निकायले आफ्नो उपस्थिति र गस्तीलाई देशभर तीव्र बनाउने रणनीति तय गरेको छ।
यसपटकको निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्नु गृह मन्त्रालयका लागि प्रमुख प्राथमिकताको विषय बनेको छ। बैठकले निर्वाचनको प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचनाको प्रवाह, घृणास्पद अभिव्यक्ति र गैरकानुनी गतिविधिहरूको निगरानीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
यदि कसैले सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी सुरक्षा निकायहरूलाई 'हाई अलर्ट' मा रहन निर्देशन दिएको छ।