प्रतिनिधि सभा चुनावका लागि लुम्बिनीका दुई प्रदेशसभा सदस्यको राजीनामा

सोमबार, माघ ५, २०८२
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेशका दुई जना प्रदेशसभा सदस्यले प्रतिनिधि सभाको चुनाव लड्ने तयारीका लागि आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार दाङ निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की (राजेश) र बर्दिया निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित धर्मबहादुर चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा राजीनामा दर्ता गराएका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सोमबार उनीहरूको राजीनामा सनाखत गरी बेलुकासम्म स्वीकृत गर्ने प्रक्रिया पूरा गरिने जानकारी दिए।

राजीनामा स्वीकृत भएसँगै सोमबार बेलुकै उनीहरू प्रदेशसभा सदस्य नरहेको सूचना सार्वजनिक रूपमा टाँस गरिने सचिवालयले जनाएको छ। राजीनामा स्वीकृत भएपछि उनीहरूले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने पनि स्पष्ट गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मास्कीलाई नेपाली कम्युनिस्ट पार्टीले दाङ–३ बाट उम्मेदवार बनाएको छ भने चौधरी उज्यालो नेपाल पार्टीको तर्फबाट बर्दिया–२ बाट उम्मेदवार बनेका छन्। चौधरी यसअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा रहे पनि हाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मास्की तत्कालीन नेकपा (माओवादी केन्द्र) र चौधरी तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए। दुवै जना पछि मन्त्रीसमेत बनेका थिए। मास्की लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री थिए भने चौधरी भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा थिए।

गत निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो। सो क्रममा दाङ–३ मा मास्कीले नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए। मास्कीले २२ हजार ३२१ मत ल्याउँदा बस्नेतले २० हजार १५८ मत प्राप्त गरेका थिए, जहाँ मतान्तर २ हजार १६३ थियो।

यस्तै, बर्दिया–२ मा चौधरीले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई हराएका थिए। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका चौधरीले माओवादी केन्द्रका मानबहादुर थारुलाई पराजित गरेका थिए। चौधरीले २० हजार १२७ मत पाउँदा थारुले १० हजार ९८४ मत प्राप्त गरेका थिए, जसमा ९ हजार १४३ मतको फराकिलो अन्तर देखिएको थियो।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्