शेखर कोइरालाको सचिवालयले भन्यो: टिकट कहाँ र कसरी बाँडिँदैछ भन्ने जानकारी छैन

सोमबार, माघ ५, २०८२
honor mob  winter sales

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले टिकट वितरण गर्ने प्रक्रिया र मापदण्डबारे आफूहरू अनविज्ञ रहेको जनाएको छ।

सचिवालयद्वारा जारी सूचनामा पार्टीभरिबाट धेरै नेताहरू टिकट माग्दै आएको भए पनि टिकट कहाँ, कसरी र कुन आधारमा बाँडिँदैछ भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी नआएको उल्लेख गरिएको छ। पार्टीभित्र टिकट वितरणको प्रक्रिया नै अस्पष्ट बनेको सचिवालयको भनाइ छ।

यसैबीच, सभापति गगन थापा र नेता कोइराला मिलेर अघि बढ्ने सहमति भइसकेको भन्ने समाचारलाई पनि सचिवालयले अस्वीकार गरेको छ। केही दिनअघि बत्तिसपुतलीमा आयोजित भेलामा सहभागी नेता सुनिल शर्माले ‘गगन–शेखर सहकार्य’को कुरा सार्वजनिक गरे पनि त्यसमा कुनै सत्यता नभएको सचिवालयले स्पष्ट पारेको हो।

सचिवालयका अनुसार विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिका कुनै पनि सदस्यले हालसम्म औपचारिक वा अनौपचारिक रूपमा डा. कोइरालासँग सम्पर्क गरेर छलफल गरेका छैनन्।

यद्यपि, टिकट वितरणको तयारीका क्रममा संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा तथा कोइरालानिकट केही नेताहरूसँग पछिल्ला दुई दिनमा संवाद गरेको जानकारी पनि सचिवालयले दिएको छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्