पुस्तान्तरणको संकेत: बाँके–२ मा नेकपाले रोज्यो युवा उम्मेदवार

सोमबार, माघ ५, २०८२
honor mob  winter sales

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले युवा नेता दिपेन्द्र बिष्टलाई उम्मेदवार बनाएको छ। वर्तमान राजनीतिक परिवेश र युवाको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै नेकपाले युवालाई टिकट दिनु सान्दर्भिक निर्णयका रूपमा हेरिएको छ।

जेन्जी आन्दोलनपछि राजनीतिमा देखिएको पुस्तान्तरणको मागलाई सम्बोधन गर्दै नेकपाले बाँके–२ मा बिष्टलाई अघि सारेको विश्लेषण गरिएको छ। यस निर्णयसँगै सो क्षेत्रमा रहेका आम युवाहरूको चाहना पूरा हुने विश्वास पार्टी कार्यकर्ता तथा समर्थकहरूले व्यक्त गरेका छन्।
बाँके–२ मा बिष्टको मुख्य प्रतिस्पर्धा नेकपा एमालेबाट टिकट पाएका जसपाका मो. इस्तियाक राईसँग हुने देखिएको छ। प्रतिस्पर्धा रोचक हुने अनुमान गरिए पनि स्थानीयस्तरमा राम्रो पकड बनाएका बिष्टलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

समाजसेवी तथा सहयोगी भावनाका व्यक्ति मानिने  बिष्ट व्यवसाय, सामाजिक सेवा र विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन्। स्थानीय तहदेखि क्षेत्रीय स्तरसम्म सबै वर्गसँग राम्रो सम्बन्ध बनाएका कारण उनी क्षेत्रका लोकप्रिय नेतामध्ये एक मानिन्छन्।

आफ्नो क्षेत्रको विकास, युवाको रोजगारी, शिक्षा, स्वास्थ्य  र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएका बिष्टलाई स्थानीयवासीको उल्लेखनीय साथ र सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। वर्तमान समयमा युवाको ढुकढुकी बनेका बिष्ट सबै वर्गका मतदातामाझ प्रिय पात्रका रूपमा चिनिँदै आएका छन्।

नेकपाले बाँके–२ मा युवालाई प्रतिनिधित्व गराउने निर्णयसँगै निर्वाचन माहोल थप तातिने संकेत देखिएको छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्