लागू भयो निर्वाचन आचारसंहिता, 'यस्तो गर्न पाइदैन'

सोमबार, माघ ५, २०८२

काठमाडौं । यही माघ ११ गते तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता लागू गरिएको छ।

निर्वाचन आयोगले आइतबार मध्यरातदेखि आचारसंहिता कार्यान्वयनमा आएको जानकारी गराएको हो। यसअघि आयोगले माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने तयारी गरेको भए पनि औपचारिक रूपमा भने अहिलेबाट लागू गरिएको जनाएको छ।

आयोगका अनुसार यो आचारसंहिता केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानमा लागू हुनेछ।

साथै, राजनीतिक दल र निर्वाचनमा सहभागी उम्मेदवारहरूलाई पनि आचारसंहिताको पालना अनिवार्य गरिएको छ।

के गर्न पाइँदैन?

सरकारी र सार्वजनिक निकायका लागि

सरकारी स्रोत, साधन (सवारी साधन, भवन आदि) कुनै पनि पक्षको प्रचारमा प्रयोग गर्न पाइँदैन।

नयाँ पद सिर्जना गर्ने, नियुक्ति गर्ने, सरुवा वा बढुवा गर्न पाइँदैन । अत्यावश्यक हुँदा आयोगसँग अनुमति लिनुपर्छ । 

नयाँ योजनाको शिलान्यास गर्ने वा बजेट स्वीकृत नभएका नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन।

 राजनीतिक दल र उम्मेदवारका लागि

निर्वाचन प्रचार-प्रसार वा जुलुसमा बालबालिकालाई प्रयोग गर्न पूर्णतया निषेध छ।

मतदातालाई लोभ्याउन भोजभतेर गर्न, नगद बाँड्न वा कुनै पनि प्रकारको उपहार दिन पाइँदैन।

घर वा सार्वजनिक स्थानको भित्तामा रङले लेख्न वा पोस्टर टाँस्न पाइँदैन।

मन्दिर, मस्जिद, गुम्बा, चर्च वा कुनै पनि धार्मिक स्थलमा निर्वाचन प्रचार गर्न पाइँदैन।

निर्वाचनको क्रममा कुनै पनि प्रकारको हातहतियार प्रदर्शन वा प्रयोग गर्न पाइँदैन।

सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि

कसैको चरित्र हत्या हुने गरी झुटो सूचना फैलाउन, मिथ्या सूचना दिन वा 'हेट स्पीच' दिन पाइँदैन।

अरूको पोष्टमा नकारात्मक प्रतिक्रिया दिन वा अरूलाई अपमान गर्ने गरी सेयररट्याग गर्न पाइँदैन।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्