सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएका बेला आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने दिन (माघ ६ गते) नजिकिँदै गर्दा निर्वाचनको सुरक्षा र व्यवस्थापकीय पक्षबारे समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, र परराष्ट्रमन्त्री बालानन्द शर्माको उपस्थिति रहेको थियो। निर्वाचन आयोगको तर्फबाट कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले निर्वाचनको हालसम्मको तयारी, आचारसंहिता कार्यान्वयन र सुरक्षा संवेदनशीलताका विषयमा प्रधानमन्त्रीलाई अवगत गराएका छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता जनाइन्। निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम छ। आजै मध्यरातदेखि निर्वाचन आचारसंहिता समेत लागू हुने भएकाले यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।