देउवाको अभिभावकत्व आवश्यक, कांग्रेस एकताका लागि सक्रिय छु : गगन थापा

शनिबार, माघ ३, २०८२
Honor 600 pro

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा पूर्ण रूपमा एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका सबै तिक्तता र मतभेदलाई बिर्सेर पार्टीलाई बलियो बनाउने बताए। 

निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्रका अग्रज नेताहरूको अनुभव र नयाँ युवाहरूको ऊर्जालाई जोडेर लैजाने रणनीति सार्वजनिक गरे।

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका अझै पनि पार्टीका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी एक–दुई दिनभित्रै सिङ्गो कांग्रेस एकै ठाउँमा उभिने वातावरण सिर्जना गर्न आफू सक्रियतापूर्वक लागिरहेको जानकारी दिए।

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय निकै नजिक आएकाले समयको चापलाई मध्यनजर गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने उनको दृढता छ। उनले निर्वाचनको तयारीमा जुट्नुपर्ने वर्तमान अवस्थामा आन्तरिक एकता नै पार्टीको मुख्य शक्ति हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्