आयोगको निर्णय संविधानविपरीत भएको देउवा समूहको निष्कर्ष, कानुनी लडाइँको घोषणा,भोलि सर्वोच्च जाने

शनिबार, माघ ३, २०८२

काठमाडौँ । नेपाली कांग्रेस (देउवा समूह) ले निर्वाचन आयोगले माघ २ गते गरेको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधानको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो।

Honor x5c

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले निर्वाचन आयोगको कदम पूर्वाग्रही र नियोजित रहेको आरोप लगाए। उनका अनुसार देशकै प्रमुख लोकतान्त्रिक दलको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा कमजोर पार्ने उद्देश्य स्पष्ट देखिन्छ। यस्तो निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासलाई नै संकटतर्फ धकेल्ने खतरा रहेको उनले बताए।

देउवा पक्षले आयोगको निर्णयविरुद्ध संवैधानिक र कानुनी बाटो अवलम्बन गर्ने निर्णय पनि गरेको छ। महतले भोलिनै सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिँदै न्यायालयबाट निष्पक्ष फैसला आउने विश्वास व्यक्त गरे।

उनले आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र सहभागी सङ्ख्याको यथोचित जाँच नगरी एकतर्फी रूपमा निर्णय गरेको आरोप पनि लगाए। “हाम्रो पक्षलाई बोलाएर धारणा लिने औपचारिक प्रक्रिया समेत पूरा गरिएन,” महतको भनाइ थियो।

पार्टीको आधिकारिकताबारे उठेका प्रश्नमा उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति नै वैधानिक रहेको स्पष्ट पारे। उनका अनुसार हाल देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापतिको भूमिकामा रहेको यही संरचना आधिकारिक पार्टी हो, र सानेपा कार्यालय छोड्ने विषयमा कुनै छलफल नै नरहेको बताए।

देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि कडा प्रतिवाद गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्