मार्बल बोकेको ट्रक दुर्घटना: ५ मजदुरको मृत्यु,३ जना घाइते

बिहीबार, माघ १, २०८२
Honor 600 pro

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा भएको ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी राजमार्गअन्तर्गत आज बिहान करिब साढे ५ बजे विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकको घुम्तीमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार टायल र मार्बल बोकेको उक्त ट्रक पल्टिँदा पछाडि सामानमाथि बसेका मजदुरहरूलाई भारी सामग्रीले थिचेको थियो। टायल र मार्बलले च्यापिएर पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा गुरुङ समुदायका ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।

ट्रकमा चालकसहित नौ जना सवार थिए। चालकको क्याबिनमा चार जना र पछाडि सामानमाथि पाँच जना बसेका थिए। क्याबिनमा रहेका चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक फरार रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्