महामन्त्री विश्वप्रकाश शर्माको घोषणा: विशेष महाधिवेशनको 'म्यान्डेट' लिएर वैधानिक रूपमै निर्वाचन आयोग जान्छौँ

मंगलबार, पुस २९, २०८२
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट हुने निर्णय र नयाँ नेतृत्वको चयनलाई पूर्ण वैधानिक प्रक्रियाका साथ निर्वाचन आयोगमा दर्ता गराउने बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशन केवल आन्तरिक भेला मात्र नभई यसको कानुनी र संवैधानिक हैसियत समेत महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनपछि घर फर्कन सक्ने भए पनि पार्टीका मुख्य पदाधिकारीहरूले निर्वाचन आयोगले पर्खिरहेको म्यान्डेट र वैधानिक बन्दोबस्तका कागजातहरू बुझाउनुपर्ने जिम्मेवारी रहेको स्पष्ट पारे।

सम्बोधनका क्रममा महामन्त्री शर्माले निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णय र नयाँ नेतृत्वको स्वरूपलाई निकै चासोका साथ हेरिरहेको जिकिर गरे।

उनले कतिपय साथीहरूमा आफूले चुनाव जितेरै नेतृत्वमा पुग्छु भन्ने आत्मविश्वास रहे तापनि पार्टीको एकता र विशेष परिस्थितिलाई मध्यनजर गर्दै सर्वसम्मतिको बाटो रोज्नुपर्ने स्थिति आउन सक्ने संकेत गरे। उम्मेदवारी दर्ता गरिसकेका प्रतिनिधिहरूलाई समेत पार्टीको हितका लागि सर्वसम्मत रूपमा नेतृत्व चयनमा सहयोग गर्न आग्रह गर्दै उनले अबको राजनीतिमा नयाँ ऊर्जा र जुझारुपन बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्