बाँके राष्ट्रिय निकुञ्जमा बाघको आतंक बढ्दै, कांग्रेसद्वारा सरकारलाई ज्ञापनपत्र

शनिबार, पुस २६, २०८२
honor mob  winter sales

नेपालगञ्ज। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पछिल्लो समय बाघको आक्रमणका कारण सर्वसाधारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिति क्षेत्र नं. १, बाँकेले सम्बन्धित सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाएको छ।

पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मात्रै झण्डै आधा दर्जन निर्दोष नागरिकहरूले बाघको आक्रमणबाट ज्यान गुमाइसकेको अवस्थामा यो विषय अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भीर बनेको नेपाली कांग्रेसले जनाएको छ।

यसै सन्दर्भमा गत शनिबार राप्तीसोनारी गाउँपालिका–१, सौरी निवासी ६३ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट भएको निधनले सम्पूर्ण स्थानीय समुदाय त्रसित र शोकाकुल बनेको जनाइएको छ।

दिनानुदिन बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गएको भन्दै राज्यले यस विषयलाई उच्च गम्भीरताका साथ लिनुपर्ने नेपाली कांग्रेसको माग छ। ज्ञापनपत्रमार्फत मानिसको शिकार गर्दै हिँडिरहेको बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा मानव क्षतिको न्यूनीकरणका लागि विशेष र प्रभावकारी पहल गर्न आग्रह गरिएको छ।

साथै, बाघको आक्रमणबाट ज्यान गुमाएका स्वर्गीय मरिचमान भण्डारीको परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन बाघलगायत अन्य जंगली जनावरबाट हुने मानवीय क्षतिको न्यूनीकरणका लागि वैज्ञानिक मापदण्ड अपनाई दीर्घकालीन र प्रभावकारी व्यवस्थापन योजना कार्यान्वयन गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ। निकुञ्ज क्षेत्र वरपर बसोबास गर्ने नागरिकहरूलाई ढुक्क, सुरक्षित र निर्भीक रूपमा बाँच्न पाउने वातावरण सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको सक्रिय भूमिका आवश्यक रहेको पार्टीको धारणा छ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्